नेपाल आइन् भारतीय अभिनेत्री नोरा फतेही, च्यारिटी कार्यक्रममा दिनेछिन् नृत्य प्रस्तुति

काठमाडौँ । भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेही नेपाल आएकी छिन् । उनले काठमाडौँको बौद्धस्थित होटल हायातमा आयोजना हुने एक च्यारिटी कार्यक्रममा सहभागी हुन नेपाल आएकी हुन् ।

‘ह्युमन रेस्पेक्ट नेपाल’ नामक सामाजिक संस्थाको सहयोगार्थ आयोजना गरिएको उक्त कार्यक्रममा नोरा फतेहीले आफ्ना लोकप्रिय गीतहरू ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतमा नृत्य प्रस्तुत गर्नेछिन् ।

कार्यक्रममा नेपाली कलाकारहरूको समेत आकर्षक प्रस्तुति रहने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिएका छन् । दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा, तथा ‘भ्वाइस अफ नेपाल सिजन ६’ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई र प्रशेस पाण्डे समेतले आफ्नो प्रस्तुति दिनेछन् ।

कार्कीका अनुसार नोरा फतेहीले काठमाडौँको वसन्तपुर, पशुपतिनाथ, बौद्ध लगायतका ऐतिहासिक सम्पदा क्षेत्रहरूको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । उनले आफ्नो प्रस्तुति दिने कार्यक्रममा २० भन्दा बढी नृत्याङ्गनाको समूह पनि सहभागी हुनेछ ।