भारत–पाकिस्तानबीचको तनाव चरम बिन्दुमा पुगेको बेला पाकिस्तानले बुधबार राति एउटा सनसनीपूर्ण दाबी गरेको छ। पाकिस्तानी विदेशमन्त्री इशाक डारका अनुसार, पाकिस्तानले चीनमा निर्मित जे-१०सी लडाकु विमान प्रयोग गरेर भारतका पाँचवटा फाइटर जेट खसालेको छ।
यसअघि भारतले जम्मू–कश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप बुधबार बिहान ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानमाथि हवाई हमला गरेको थियो। सो कारबाहीमा भारतले पाकिस्तान–नियन्त्रित कश्मीरका पाँच र पाकिस्तानका चार स्थानमा निशाना बनाएको थियो।
पाकिस्तानको दाबी अनुसार खसालिएका पाँचवटा लडाकु विमानमध्ये तीनवटा फ्रान्समा निर्मित रफाल, एउटा रूसमा बनेको मिग–२९ र अर्को सुखोई सु–३० रहेको बताइएको छ। यद्यपि भारतले यसबारे अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन।
चीनको जे-१०सी प्रयोग गरेर प्रतिघात
डारले बुधबार राति पाकिस्तानी संसदलाई सम्बोधन गर्दै जे-१०सी लडाकु विमानमार्फत प्रतिघात गरिएको र पाँचवटा भारतीय विमान खसालिएको बताएका छन्। उनका अनुसार, पाकिस्तानले कारबाही सकिनासाथ चीनलाई जानकारी दिएको थियो। पाकिस्तानी समय अनुसार बिहान ४ बजे चिनियाँ राजदूत जियाङ जैडोङले इस्लामाबादस्थित विदेश मन्त्रालयमा भेट गरेका थिए।
भारत र पाकिस्तान दुवैले आ–आफ्नो भूमिबाट मिसाइल प्रहार गरेको बताइरहेका छन्, तर यदि पाकिस्तानको दाबी सही हो भने यो सीधै भारतीय लडाकु विमानहरूसँगको हवाई संघर्ष थियो— त्यो पनि चीनको अत्याधुनिक युद्धविमान प्रयोग गरेर।
के चीन अप्रत्यक्ष रूपमा भारत–पाकिस्तान तनावमा तानिँदैछ?
पाकिस्तानी लडाकु विमान भारतको आकाशमा पसेर प्रहार गर्यो कि सीमाबाटै दागिएको मिसाइलले खसालियो? यो प्रश्न अहिलेसम्म उत्तरविहीन छ। चिनियाँ पक्षले पनि अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। यद्यपि विश्लेषकहरू यो घटनालाई चीन–भारत सम्बन्धमा नयाँ संवेदनशीलता ल्याउने संकेतका रूपमा हेरिरहेका छन्।
पाकिस्तानले विगत केही वर्षदेखि आफ्ना सैन्य खरिदको झण्डै ८१% चीनबाट गरिरहेको छ। सन् २०२२ मा पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा जे-१०सी विमान पाकिस्तानको वायुसेनामा सामेल गरिएका थिए।
आक्रमण र जवाफबीच मृत्यु र आक्रोश
भारतको आक्रमणमा पाकिस्तानका ३१ जना (महिला र बालबालिकासहित)को मृत्यु भएको पाकिस्तानले जनाएको छ। उता भारतले पनि जम्मू–कश्मीरमा पाकिस्तानबाट भएको जवाफी बमबारीमा १३ भारतीय सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ।
पहलगामको पर्यटकीय क्षेत्रमा अप्रिल २२ मा भएको आतंककारी आक्रमणमा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि भारतले यो कडा जवाफ दिएको हो।
के अब युद्ध अपरिहार्य बन्दैछ? कि अझै संवादको ढोका खुला छ?
स्थिति दिनदिनै चर्कँदै जाँदा दक्षिण एशियामा शान्ति कति समय टिक्ने हो भन्नेमा गम्भीर चिन्ता बढेको छ।
Leave a Reply