काठमाडौं — गृहमन्त्री रमेश लेखकले सूचनाको हकलाई पारदर्शिता र सुशासन स्थापनाका लागि आवश्यक भएको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधानमै सूचनाको हकलाई मौलिक हकका रूपमा उल्लेख गरिएको स्मरण गराए।
गृहमन्त्री लेखकले भने, “सूचनाको हक दिने हाम्रो कर्तव्य हो। सूचना प्राप्त गर्ने नागरिकको अधिकार हो। तर सूचनाको हक भनेको जे माग्यो त्यही दिनुपर्छ भन्ने होइन।”
उनका अनुसार केही सूचनाहरू गोपनीयतासँग, शान्ति-सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध र कूटनीतिक मामिलासँग सम्बन्धित हुने भएकाले ती सूचनाहरू सार्वजनिकीकरण गर्नु उपयुक्त नहुने हो।
“पारदर्शिता र सुशासनको नाममा सारा गोप्य सूचना सार्वजनिक गरिने हो भने देश अस्थिर हुन्छ,” उनले भने, “संविधानको व्यवस्था समग्रतामा बुझ्नुपर्छ। सूचना नलुकाई दिनुपर्छ, तर गोपनीय सूचनाका हकमा स्पष्ट कारणसहित लेखेर दिनुपर्छ कि किन दिइएन।”
उनले सूचना प्रवाहलाई सन्तुलित बनाउँदै पारदर्शिता कायम गर्न सबै निकायलाई आग्रह गरे।
Leave a Reply