पर्सामा चोरी तस्करी नियन्त्रणका लागि सिसी क्यामेरा जडान सुरु

पर्सा जिल्लामा अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्नका लागि विभिन्न संवेदनशील स्थानहरूमा सिसी क्यामेरा जडान थालिएको छ। स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिका अन्तर्गतका छपकैया, सिर्सिया, बलिरामपुर र अलौँ क्षेत्रका दुई–दुई स्थानमा गरी जम्मा आठवटा सिसी क्यामेरा जडान गरिएको हो।

सिसी क्यामेरा जडानका क्रममा केही स्थानमा अवरोध भए पनि सोमबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुरक्षाकर्मीको उपस्थितिमा क्यामेरा जडान गरेको हो।

प्रजिअ अर्यालले तस्करी नियन्त्रणका लागि समितिको बैठकले सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी निगरानीमा राख्न सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको जानकारी दिए। उनका अनुसार यसले भन्सार छली गरेर वस्तु आयात–निर्यात गर्न खोज्नेहरूलाई मनोवैज्ञानिक रूपमा रोक्नेछ।

साथै, भन्सार छली गर्ने व्यक्तिहरूबाट सुरक्षाकर्मीहरूमाथि हुने दुर्व्यवहार पनि घट्ने अपेक्षा गरिएको छ। यसरी निगरानीको प्रमाणका आधारमा अब कानुनी कारबाही प्रक्रिया पनि थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार पहिलो चरणमा आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरिएको हो। उनले आगामी दिनमा पर्सा र बाराका अन्य छोटी भन्सार कार्यालय, नाका तथा जोखिमयुक्त क्षेत्रमा पनि यस्ता निगरानी प्रणाली विस्तार गर्ने योजना रहेको जानकारी दिए।

समितिको यो प्रयासले भन्सार छली, चोरी तस्करी तथा सुरक्षाकर्मीमाथिको आक्रमण न्यूनीकरण गर्दै सीमावर्ती क्षेत्रमा कानुनी शासनलाई बलियो बनाउने अपेक्षा गरिएको छ।