बैतडी, पाटन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाटन नगरपालिकाले आज विशेष समारोहबीच स्वागत तथा अभिनन्दन गरेको छ।
दाहाल बैतडीको पाटनमा आयोजित ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जनजागरण अभियान’ शुभारम्भ गर्न पुगेका थिए। पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलका अनुसार नगरपालिकाको आयोजनामा अध्यक्ष दाहालसहित अभियान टोलीलाई सम्मान गरिएको हो।
आजै दिउँसो आयोजित कार्यक्रमबाट अध्यक्ष दाहालले अभियानको विधिवत् शुभारम्भ गरे। उक्त अभियानको नेतृत्व स्वयं दाहालले गर्दैछन्। अभियानमा सहभागी टोलीमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन ‘पासाङ’, महासचिव देव गुरुङ, तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज गिरिराजमणि पोखरेल लगायत शीर्ष नेताहरू बैतडी आइपुगेका छन्।
यसअघि हुलाकी राजमार्गमार्फत तराई केन्द्रित अभियान सम्पन्न गरिसकेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गलाई प्रयोग गरेर भूगोलसहित जनसम्पर्क विस्तार गर्ने रणनीति लिएको जनाएको छ।
अभियानको क्रममा विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा, र स्थानीय विकासका आवश्यकता सम्बन्धी छलफल हुने जनाइएको छ। माओवादी केन्द्रले यो अभियानलाई संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार, र आगामी राजनीतिक एजेन्डा प्रस्तुतीकरणको अवसरको रूपमा लिएको जनाएको छ।
अभियान जेठ १० गते कास्कीको पोखरामा समापन गरिनेछ।
Leave a Reply