सिरहा, वैशाख २५ – सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाएपछि स्थानीय आवागमनमा ठुलो समस्या उत्पन्न भएको छ। हुलाकी सडकअन्तर्गत पर्ने यो मार्ग अहिले पूर्णरूपमा अबरुद्ध छ।
करिब १३ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पक्की पुल अझै अधुरै रहँदा, सिरहा नगरपालिका–६ ले करिब दुई लाख रुपैयाँ खर्चेर अस्थायी काठेपुल निर्माण गरेको थियो। बाँस र काठको भरमा निर्माण गरिएको उक्त पुलबाट दैनिक सयौँ मोटरसाइकल र पैदलयात्रीहरू ओहोरदोहोर गर्दै आएका थिए।
वडाध्यक्ष इन्द्रजित यादवका अनुसार, “बाढीले पुल बगाएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ। पैदल यात्रुहरू भर्याङको सहायताले जोखिम मोल्दै नदी पार गरिरहेका छन्।”
स्थानीयको तिक्तता अझ गहिरो बनाउने कुरा के भने, सन् २०११ (वि.सं. २०६८ जेठ ३१) मा सुरु गरिएको ४६९.२ मिटर लामो पक्की पुल तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि अहिलेसम्म काम सकिएको छैन। १० वर्षमा पटक–पटक म्याद थपिए पनि २०७८ सालको बाढीले निर्माणाधीन संरचना भासिएपछि काम झनै ढिलाइमा परेको हो।
हालै निर्माण कम्पनी लुम्बिनी बिल्डर्स ले काम छोडेको पुष्टि भएपछि स्थानीयको आक्रोश झन् चुलिएको छ। अब अर्को बर्खाअघि वैकल्पिक व्यवस्था नहुने हो भने स्थानीय बासिन्दा अझै लामो समय जोखिम मोलेर यात्रा गर्न बाध्य हुने देखिन्छ।
Leave a Reply