उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीलाई चलिरहेको सुनुवाइबारे जानकारी गराउन आदेश दिएको छ।
शुक्रबार प्रमुख न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासले जारी गरेको आदेश अनुसार, लामिछाने र जोशीलाई सम्बन्धित कारागार कार्यालयमार्फत सुनुवाइको जानकारी तुरुन्तै उपलब्ध गराउन भनिएको हो।
उक्त आदेश निवेदन/प्रतिवेदन शाखामा समेत जानकारी गराउने गरी गरिएको हो।
यसैसाथै आरती गुरूङ, मिना गुरूङ, रामबहादुर खनाल, लिला पछाई र कृष्णबहादुर गुरूङको हकमा सुनुवाइलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।
इजलासले अर्को पेसी जेठ ४ गते आइतबार हेर्दाहेर्दैमा राखिएको जानकारीसमेत दिएको छ। आदेशमा भनिएको छ, “प्रतिवादीहरूमध्येका रवि लामिछाने र छविलाल जोशी हाल अन्य मुद्दाको सिलसिलामा रूपन्देही कारागारमा थुनामा रहेको जानकारी वरिष्ठ कानुन व्यवसायीमार्फत प्राप्त भएकोले सुनुवाइको जानकारी सम्बन्धित कारागारमार्फत पठाउनू।”
Leave a Reply