कोशी, लुम्बिनी र सुदूरपश्चिममा चट्याङ्गसहित वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका अधिकांश पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

कोशी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानहरूमा तथा अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ। मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि देखिएको छ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।