काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमी प्रणालीमा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागको भनाइ छ।
बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
बुधबार राति कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ।
राति पनि कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको विभागको भनाइ छ।
Leave a Reply