काठमाडौँ । नेकपा (एस) का उपाध्यक्ष राजेन्द्र पाण्डेले भारत र पाकिस्तानबीचको बढ्दो तनावले युद्धको खतरा निम्त्याएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले यस्ता संवेदनशील परिस्थितिमा सार्क राष्ट्रहरूमा नेपालले विशेष जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै क्षेत्रीय शान्ति स्थापनाका लागि कूटनीतिक पहल र संवादको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
पाण्डेले भने, “नेपालले सधैं शान्तिको पक्षपोषण गर्दै आएको देश हो। अहिलेको अवस्थामा सन्तुलित कूटनीति मार्फत सार्क राष्ट्रहरूलाई एकजुट गराउँदै भारत–पाकिस्तानबीचको द्वन्द्वलाई वार्ता र संयमतर्फ मोड्ने प्रयास गर्नु आवश्यक छ।”
उनले नेपालले विश्व शान्ति र स्थायित्वको पक्षमा रहँदै आएको ऐतिहासिक भूमिका स्मरण गराउँदै, छिमेकी राष्ट्रबीचको तनावपूर्ण अवस्थाले सम्पूर्ण दक्षिण एसियाली क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको चेतावनी दिए।
Leave a Reply