अर्थमन्त्रीलाई कांग्रेस सांसद मिश्रको आग्रह: “यसपालि रक्सी र चुरोटमा कर नबढाउनुस्”

काठमाडौं — नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा रक्सी र चुरोटमा कर नबढाउन अर्थमन्त्रीलाई बिन्ती गरेका छन्।

बुधबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद मिश्रले व्यापारीहरूको ‘चालाकी’को भण्डाफोर गर्दै भने, “कर बढ्ने हल्ला चल्नासाथ व्यापारीहरूले उत्पादन बढाएर गोदाममा सामान थुपार्छन् र बजारमा अभाव देखाउँछन्। यस्तो दम्भको अन्त्यका लागि यसपटक कर नबढाउनुहोस्।”

उनले सरकारलाई भन्सारमा हुने व्यापक चुहावटतर्फ पनि गम्भीर ध्यान दिन सुझाव दिए। “५० प्रतिशत मात्रै भन्सार असुली हुन्छ, बाँकी ठूलो साँठगाँठमा फरक बाटो भएर सामान भित्रिन्छ। त्यसलाई नियन्त्रण गर्न सरकारले स्पष्ट कदम चाल्नुपर्छ,” मिश्रले बताए।

सांसद मिश्रले बजेट निर्माणमा दलगत पक्षपातभन्दा माथि उठेर काम गर्न पनि सुझाव दिए। “सत्तापक्षमा हुँदा जेसुकै गरे पनि ताली, विपक्षमा हुँदा जुनसुकै कुरा भए पनि विरोध – अब यो प्रवृत्तिको अन्त्य हुनुपर्छ,” उनले भने।