रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट अब प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेको रिट सोमबार चौथो नम्बरमा सूचीबद्ध गरिएको छ।
यसअघि सो रिट पटक–पटक विभिन्न इजलासमा सुनुवाइ हुन नसकेपछि अन्ततः प्रधानन्यायाधीशको इजलासमा परेको हो। लामिछानेसँगै रूपन्देही कारागारमा रहेका पूर्व डिआइजी छविलाल जोशीको रिट पनि एकैसाथ राखिएको छ।
रिट सुरूमा वैशाख ८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो, तर उनले हेर्न नमिल्ने भन्दै पछि हटे। त्यसपछि न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले वैशाख ९ गते कारण देखाउ आदेश जारी गर्यो। त्यसयता सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल, तिलप्रसाद श्रेष्ठ, नहकुल सुवेदी, लगायतका इजलासले पनि सुनुवाइ गर्न असमर्थता जनाएका थिए।
लामिछानेकी पत्नी निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालत रूपन्देहीले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएपनि सरकारी वकिलको अपिलपछि उच्च अदालतले सो आदेश बदर गर्यो। सोही आदेशपछि प्रहरीले उनलाई काठमाडौँस्थित निवासबाट पक्राउ गरी रूपन्देही कारागार चलान गर्यो।
अब यो मुद्दा सर्वोच्चको प्रधानन्यायाधीशकै इजलासमा पुगेसँगै सुनुवाइको दिशातर्फ गम्भीर ध्यानाकर्षण भएको छ।
Leave a Reply