रुपन्देहीमा विद्यालयको बसमा भयावह आगलागी, विद्यार्थीको चमत्कारिक रूपमा उद्धार

रुपन्देहीको सुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेन्डरी स्कुलको बसमा बुधबार बिहान अचानक आगलागी भएको छ। स्कुल सुरु हुने समयमै विद्यार्थी बोकेर विद्यालयतर्फ आइरहेको बस बिद्यालयको गेटनजिकै पुगेपछि अचानक धुवा निस्कन थालेको र त्यसपछि आगो लागेको स्थानीयले बताएका छन्।

घटनाको प्रत्यक्षदर्शी मनोज भण्डारीका अनुसार, “बसभित्र विद्यार्थीहरू खचाखच थिए। अचानक बसको इन्जिनबाट धुवाँ आउन थाल्यो, एक्कासी आगो सल्कियो। त्यतिबेला सबैको मन आत्तिएको थियो। तर स्थानीय, नेपाल प्रहरी र शसस्त्र प्रहरीको सहयोगमा विद्यार्थीहरूलाई सुरक्षित रूपमा निकाल्न सकियो।”

बसको नम्बर लु १ क १३२६ रहेको छ र यो पूर्णरूपमा क्षतिग्रस्त भएको छ। आगलागीको कारणबारे प्रारम्भिक अनुसन्धान जारी रहेको जनाइएको छ। यद्यपि समयमै उद्धार प्रयास सफल भएकाले कुनै मानवीय क्षति नभएको प्रहरी स्रोतले जनाएको छ।

आगलागीको बेलामा विद्यार्थीहरू निकै त्रसित भए पनि उद्धारपछि सबैलाई सुरक्षित स्थानमा पुर्‍याइएको थियो। विद्यालय प्रशासनले तुरुन्तै अभिभावकहरूलाई जानकारी गराएर सबै विद्यार्थीलाई घर पठाउने व्यवस्था मिलाएको छ।

विद्यालय बसमा आगलागी जस्तो गम्भीर घटना पुनः नहोस् भनेर अभिभावक र स्थानीयले स्कुल बसको नियमित मर्मत तथा सुरक्षा निरीक्षणमा कडाइ गर्न माग गरेका छन्।

यस घटनाले विद्यालय सुरक्षा, विशेषतः सार्वजनिक स्कुल बसको मर्मत तथा आपतकालीन तयारीप्रति गम्भीर ध्यान दिनुपर्ने खाँचो औँल्याएको छ।