सस्तो देखिने कालोपत्रे, महँगो सावित! सिमेन्ट सडकको माग चुलियो

कालोपत्रे (बिटुमिन) सडकको सट्टा अब सिमेन्टबाट टिकाउ सडक निर्माण गर्नुपर्ने आवाज उठेको छ। नेपाल सिमेन्ट उत्पादक संघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा सरोकारवालाहरूले नेपालको पहाडी भूगोललाई ध्यानमा राख्दै कङ्क्रिट सिमेन्ट सडक उपयुक्त हुने दाबी गरेका छन्।

उनीहरूको भनाइमा सुरुमा कालोपत्रे सडक सस्तो देखिए पनि, वर्षेनि मर्मत गर्नुपर्ने, चाँडै बिग्रिने, पानीले क्षति पुर्‍याउने जस्ता समस्याले दीर्घकालमा यो विकल्प खर्चिलो बन्न पुग्छ। बरु सिमेन्ट सडक तीन गुणा बढी टिकाउ हुने, पानीले नबिगार्ने, बलियो हुने तर्क उनीहरूले गरेका छन्।

ढल, खानेपानी वा अन्य संरचना विस्तार गर्नुपर्दा कालोपत्रे सडक भत्काउनुपर्ने हुन्छ भने सिमेन्ट सडक सजिलै काट्न मिल्ने र पछि पुनः निर्माण गर्न सकिने सुविधा हुने उनीहरूको भनाइ छ।

अर्को महत्त्वपूर्ण पक्ष भनेको बिटुमिन आयात गरिने सामग्री हो भने सिमेन्ट नेपालको आन्तरिक उत्पादन हो। त्यसैले स्वदेशी उत्पादनको प्रवर्धनका लागि पनि सिमेन्ट प्रयोगलाई प्राथमिकता दिनुपर्ने माग उनीहरूले राखेका छन्।