सुरु भयो सगरमाथा आरोहण, ४२१ जना आरोही चुचुरो चुम्ने तयारीमा

काठमाडौं । वसन्त ऋतुसँगै यो वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । बाक्लो हिमपातका कारण ढिलो सुरु भए पनि अब चुचुरोसम्मको बाटो खुला भइसकेको छ ।

एटके एक्सपीडिसन कम्पनीबाट खटिएको सात सदस्यीय शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको शिखरसम्म डोरी टाँगेर बाटो तयार गरेपछि आरोहण प्रारम्भ भएको हो । आधार शिविरबाट सूचना दिँदै एक्सपीडिसन अगुवा लाक्पा शेर्पाले खुम्बु आइसफल क्षेत्रमा भारी हिउँ र ठूला चट्टानका कारण डोरी टाँग्न निकै चुनौतीपूर्ण भएको बताएका छन् ।

यसअघि त्यही कम्पनीका पाँच शेर्पा ल्होत्से र आमादब्लम हिमालमा डोरी टाँगिसकेका थिए । अब डोरी टाँगिएको मार्गअनुसार आरोहण टोलीहरू एकपछि अर्को गर्दै अगाडि बढ्नेछन् ।

पर्यटन विभागले दिएको जानकारीअनुसार हालसम्म ४४ आरोहण समूहका ४२१ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । विभागले अझै केही टोली थपिने अनुमान गरेको छ ।

गत वर्ष पनि यही सिजनमा यति नै संख्यामा आरोहीले अनुमति लिएका थिए । विभागका अनुसार सगरमाथा आरोहणबाट मात्रै यो वर्ष ६५ करोड रुपैयाँ रोयल्टी संकलन भएको छ भने समग्र हिमालहरूबाट ७८ करोड रुपैयाँ सरकारी खातामा जम्मा भएको छ ।

यसपटक मौसम अनुकूल रहेकाले प्रारम्भिक हप्तामै उच्च संख्यामा आरोहण हुने अनुमान गरिएको छ ।