सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग

काठमाडौँ, बैशाख २९ — आगामी सगरमाथा संवाद कार्यक्रमका लागि भारत सरकारले नेपाललाई १५ वटा विद्युतीय गाडी सहयोग स्वरूप प्रदान गरेको छ।

नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत प्रदान गरिएका ती गाडीहरू आज परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष समारोहमार्फत हस्तान्तरण गरियो। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गाडीहरू परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई हस्तान्तरण गरे।

डा. देउवाले भारत सरकारप्रति आभार व्यक्त गर्दै भनिन्, “जलवायु परिवर्तन नेपालको मात्र नभई सम्पूर्ण क्षेत्रको साझा चुनौती हो। यसको समाधान आपसी समन्वय र सामूहिक प्रयासबिना सम्भव छैन।”

उनले सगरमाथा संवाद कार्यक्रमले क्षेत्रीय समस्याहरू उजागर गर्ने र समाधानका उपाय खोज्न सामूहिक प्रयासको मोडल प्रस्तुत गर्ने बताइन्।
मे १६ देखि १८ सम्म चल्ने उक्त संवाद कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै डा. देउवाले नेपाल सरकार अतिथिहरूको स्वागतका लागि पूर्णरूपमा तयार रहेको बताइन्।

त्यसै अवसरमा भारतीय राजदूत श्रीवास्तवले पनि दुई देशबीचको सम्बन्ध उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भने, “जलवायु परिवर्तनजस्तो साझा चुनौतीको सामना गर्न भारत सधैँ नेपालसँग सहकार्य गर्न तयार छ।”