गृहमन्त्री रमेश लेखक शनिबार सगरमाथा आधारशिविर (बेसक्याम्प) पुगे। पर्यटकीय सिजनमा आरोहीहरुको अवस्था बुझ्न र शान्ति सुरक्षाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित बेसक्याम्प पुगेका हुन्।
निरीक्षणका क्रममा मन्त्री लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार तथा पर्वतारोहण सहयोगका लागि हेलिकप्टर उडानलाई सहज बनाउने बताउँदै भने, “हामी रोक होइन, नियमन गर्दैछौं।” उनले अनावश्यक र अव्यवस्थित उडान नियन्त्रण गर्दै शारीरिक रूपमा कमजोर पर्यटकको उद्धार प्राथमिकता हुने नीति स्पष्ट पारे।
खुम्बु क्षेत्रमा हेलिकप्टरको दुरुपयोग भएको भन्दै स्थानीयले उडान रोक्न माग गर्दै आएका छन्। तर पर्यटन व्यवसायीहरू भने प्रतिबन्धले व्यवसायमा असर पार्ने भन्दै नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन्।
अन्तरक्रियामा गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीसमेत सगरमाथा क्षेत्रको समस्याबारे जानकार रहेको र समाधानका लागि “सगरमाथा संवाद” कार्यक्रम सञ्चालन भइरहेको बताए। सरकार अब जनमुखी नीति कार्यान्वयन गर्दै सगरमाथा पर्यटनको दीर्घकालीन व्यवस्थापनमा जुट्ने संकेत उनले दिएका छन्।
Leave a Reply