सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौँ — सशस्त्र प्रहरी बल नेपालका सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

आइतबार बिहान ९:२० बजे उनले ८,८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा सशस्त्र प्रहरी बल नेपालको झण्डा र ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देश सहितको झण्डा फहराएका हुन्। सगरमाथा बेशक्याम्पबाट समन्वय गरिरहेका सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले यो जानकारी दिएका छन्।

छत्यालसँगै वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गरेका छन्।

छत्याल ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देश विश्वमाझ फैलाउने उद्देश्यले सद्भावना दूतको रूपमा आरोहणमा गएका थिए। कार्यक्रम जेठ २ देखि ४ गतेसम्म सगरमाथा क्षेत्रमै सम्पन्न भएको थियो।

यसअघि उनले वैशाख २२ गते ६,११४ मिटर अग्लो लोबुचे हिमालको पनि सफल आरोहण गरेका थिए। सगरमाथा आरोहणको लागि उनी वैशाख १५ गते प्रस्थान गरेका थिए।

उनी सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालयको उच्च भुभाग विपद् उपशाखामा कार्यरत छन्। छत्याललाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विदाई गरेका थिए।

यो सफल आरोहणले सशस्त्र प्रहरीको साहस, प्रतिबद्धता र मुलुकप्रतिको समर्पणलाई थप बल दिएको छ।