संविधान संशोधनका लागि सर्वदलीय समिति गठन गरौँ : उपसभापति धनराज गुरुङको सुझाव

काठमाडौं, वैशाख २३ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संविधान संशोधनको प्रक्रिया अघि बढाउन सर्वदलीय समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि धारणा राख्दै उपसभापति गुरुङले संविधान कार्यान्वयनको एक दशक पूरा भइसकेको सन्दर्भमा अब ‘समीक्षा’ होइन ‘संशोधन’ जरुरी रहेको बताएका हुन्।

गुरुङले प्रतिनिधिसभामा सम्बोधन गर्दै भने, “दश वर्ष कार्यान्वयन गरिसकेको संविधानको फेरि समीक्षा होइन, संशोधन गर्नुपर्ने अवस्था आइसकेको छ। अब हामीले कहाँ समस्या देख्यौँ, त्यो प्रस्ट भइसकेको छ। त्यसैले नीति तथा कार्यक्रममा संविधान संशोधन गर्ने उल्लेख गर्नुपर्छ।”

उनले संविधान संशोधनमा राजनीतिक सहमतिको बाटो आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि सर्वदलीय समिति गठन गर्ने प्रस्ताव राखे। “सबै मिलेर संविधान बनाएका हौँ, त्यसैले संशोधन गर्दा पनि सबै मिल्नैपर्छ,” उनले भने।

गुरुङले निर्वाचन प्रणालीमा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूची प्रणाली हटाउनुपर्ने धारणा व्यक्त गरे। “११० जनाको समानुपातिक बन्दसूची हटाई १६५ प्रत्यक्ष निर्वाचन क्षेत्र कायम गरौँ र बाँकी ५५ सिट महिलाका लागि छुट्याऔं,” उनले प्रस्ताव गरे।

त्यस्तै, उपसभापति गुरुङले हालसम्म भएका भ्रष्टाचारका घटनाहरूको गम्भीर छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि माग गरे। “देशको विकास रोक्ने, जनविश्वास गुमाउने यस्ता घटनालाई अब कानुनी दायरामा ल्याउनु आवश्यक छ,” उनले जोड दिए।