सप्तरीमा नौ महिनामा ६ वटा पुल निर्माण सम्पन्न, ७ पुल अन्तिम चरणमा म्युज खबर | सप्तरी, वैशाख १८

चालु आर्थिक वर्षको नौ महिनामा सप्तरी जिल्लामा ६ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ७ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। लहानस्थित सडक डिभिजन कार्यालयका प्रमुख इन्जिनियर आशुतोष कर्णका अनुसार हालसम्म बनेका पुलहरूमा ‘लोड टेस्ट’ अर्थात् भार परीक्षण हुन बाँकी रहेको छ।

प्रमुख कर्णले बताएअनुसार, जिल्लाको सडक सञ्जाल विस्तार र आवागमन सहज बनाउन पुल निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ। निर्माण सम्पन्न भएका केही पुलको उद्घाटन तयारीमा रहेको जनाइएको छ।

देवधार र घोडदह नदीमा बहुप्रतिक्षित पुलहरू सम्पन्न

शम्भुनाथ नगरपालिका–११ स्थित देवधारमा झण्डै ६ करोड ५७ लाख ८२ हजार रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न गरिएको छ। त्यसैगरी, छिन्नमस्ता गाउँपालिका स्थित घोडदह नदीमा पनि १ करोड ९१ लाख ९२ हजार रुपैयाँको लागतमा नयाँ पुल निर्माण गरिएको छ।

यी दुवै पुलहरू जिल्लाको ग्रामीण क्षेत्रलाई सहज आवागमनसँग जोड्ने महत्वपूर्ण पूर्वाधारको रूपमा लिइएको छ।

सडक डिभिजन कार्यालयका अनुसार बाँकी रहेका सातवटा पुलको संरचनात्मक काम अन्त्य भइसकेको छ र पिच तथा सजावटको काम मात्रै बाँकी रहेको छ। निर्माण कम्पनीहरूलाई तोकिएको समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिइएको जनाइएको छ।