रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालयमा भवन निर्माणका लागि गरिएको खनाइको क्रममा सकेट बम फेला परेको छ।
सोमबार दिउँसो विद्यालयको नयाँ भवन निर्माणको तयारीस्वरूप जग खन्ने क्रममा पुरानो समयमा गाडिएको अवस्थामा उक्त विस्फोटक पदार्थ भेटिएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार घटना थाहा पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको छ।
“जग खनाइको क्रममा बम जस्तो वस्तु भेटिएको खबर आयो,” चापागाईंले जानकारी दिए, “सुरक्षा सावधानीका साथ हामी घटनास्थल जाँदैछौं।”
प्रहरीले नेपाली सेनासँग समन्वय गरी उक्त बम डिस्पोजलका लागि प्रक्रिया अगाडि बढाएको छ। प्रारम्भिक अनुमानमा यो सकेट बम द्वन्द्वकालको समयमा राखिएको हुनसक्ने बताइएको छ।
स्थानीयवासी र विद्यालय प्रशासनले घटनापछि डर र त्रास व्यक्त गरेका छन्। प्रहरीले भने तत्काल विद्यालय क्षेत्रमा सुरक्षाको व्यवस्था गर्दै आगामी कदम चालेको छ।
Leave a Reply