सेती, मेलम्ची र रोशी: कहिलेसम्म अनसुनी गरिरहने?

सेती, मेलम्ची र रोशीजस्ता नदीहरूले पटकपटक चेतावनी दिँदै आएका छन्। तर हामीले तिनको सन्देश बुझ्ने प्रयास नगरेको धेरै भइसकेको छ। जति पटक नदीले डरलाग्दो रुपमा बग्यो, त्यति पटक हामीले क्षणिक बहस गर्‍यौं र फेरि बिर्सियौं।

२०७८ साल असार १ गते मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकको चनौटे क्षेत्रलाई खण्डहर बनायो। एक समयसम्म व्यवसाय र कृषिमा फस्टाउँदै गएको यो ठाउँ बाढीपछि उजाड भयो। मेलम्चीले खेत सिँच्ने काम मात्रै गर्दैन, अब बस्ती बगाउने बनिसकेको छ।

बाढीको प्रकृति सामान्य थिएन। यो गेग्रान बहाव थियो – जसमा पानीसँगै ढुंगा, माटो, र रूखहरूको एकसाथ बहाव हुन्छ। यही गेग्रान बहावले रातो पुल समेत बगायो, चनौटे बजार सिध्यायो, र बस्तीको बिचबाटै खोला बग्न थाल्यो।

यस्तै प्रकृतिको बहाव सेती नदीमा पनि देखिएको थियो २०६९ सालमा। कास्कीको सेतीमा आएको बाढीले २८ जनाको ज्यान लियो र ३० जना बेपत्ता भए। पछिल्लो समय रोशी खोलामा पनि डरलाग्दो बाढी देखिएको छ, जसमा जथाभावी खनिएका डाँडा र क्रसर उद्योगहरू जिम्मेवार देखिन्छन्।

भूगर्भविद्हरू भन्छन् – हाम्रो विकास मोडल आफैँमा जोखिम निम्त्याउने कारक बनिरहेको छ। माटे सडकहरू, बिना इन्जिनियरिङ्गको ढुंगा खानी, नालाको अभाव, र पहाडको भौगर्भिक संरचना नबुझी खनिएका बाटाहरूले बाढीको मार्ग बनाइरहेका छन्।

२०७२ सालको भूकम्पपछि नेपालमा २५ हजारभन्दा बढी नयाँ पहिरो पहिचान भएका छन्। पहाडहरू ‘कान्छा’ भएकाले अस्थिर छन्, तर हामी हेभी मेशिन चलाएर ती पहाड भत्काउनमै लागिरहेका छौं। विकासको नाममा प्रकृति बिरुद्धको युद्ध लडिरहेका छौं – जुन अन्ततः हाम्रो आफ्नै बिनासतर्फ जान्छ।

जल तथा मौसम विज्ञान विभागले अझै पुरानो थ्रेस होल्ड अपनाइरहेको छ – जसले अहिलेको बदलिएको वर्षा प्रणालीलाई समेट्न सक्दैन। स्थानीयस्तरमा केही संस्थाहरूले नयाँ थ्रेस होल्ड स्थापना गरेका छन्, तर त्यो पर्याप्त छैन। वर्षा मापन केन्द्र धेरै ठाउँमा छैन, वा बिग्रिएका छन्। यस्तो अवस्थाले सटिक पूर्वसूचना दिन असम्भव बनाइरहेको छ।

सडक बनाउने होड अहिले स्थानीय तहहरूमा प्रमुख ‘विकास’को सूचक बनेको छ। तर तीमध्ये अधिकांश माटे छन्, नाला छैन, निकास छैन। यही संरचनाले गर्दा बर्खामा बाढीको रूप लिन्छ, जसले बस्ती र खेत बगाउँछ।

हामीले सेती, मेलम्ची, रोशीबाट चेतावनी पाइसकेका छौं। अब पनि नसुन्ने हो भने, विपत्ति अब आकस्मिक हुनेछैन – पूर्वानुमानित हुनेछ। समयमै सोचौं, नत्र प्रकृतिले फेरि कठोर रूपमा सम्झाउने छ।