स्पाइस जेटको पुनरागमन: पाँच वर्षपछि नेपालमा नियमित उडान सुरु, भाडा दर १७ हजारदेखि

काठमाडौं, २१ वैशाख – भारतीय निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी स्पाइस जेट पाँच वर्षपछि फेरि नेपाली आकाशमा फर्किन लागेको छ। कम्पनीले आगामी वैशाख २७ गते (१० मे २०२५) देखि दिल्ली–काठमाडौं बीच दैनिक उडान सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ।

स्पाइस जेटले कोभिड–१९ महामारीपछि स्थगित गरेको नेपाल उडान सेवा पुनः सुरु गर्न लागेको हो। कम्पनीका अनुसार यो पुनरागमनसँगै नेपाल र भारतबीचको हवाई आवागमन अझ सहज र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।

डेली फ्लाइट, बोइङ ७३७ मा १८९ यात्रु क्षमताको सेवा

उडानका लागि स्पाइस जेटले १८९ सिट क्षमतायुक्त बोइङ ७३७ विमान प्रयोग गर्ने भएको छ, जसका सबै सिटहरू इकोनोमी क्लास हुनेछन्। दिल्लीबाट बिहान ९:५५ बजे काठमाडौं अवतरण गर्ने र १०:५५ बजे पुनः दिल्ली प्रस्थान गर्ने तालिका कम्पनीले तय गरेको छ।

नेपाल प्रतिनिधित्वमा हिमालयन ग्लोबल ट्राभल

स्पाइस जेटको नेपालस्थित जनरल सेल्स एजेन्ट (GSA) को जिम्मेवारी हिमालयन ग्लोबल ट्राभल सर्भिसेस प्रा.लि. लाई दिइएको कम्पनीले जानकारी दिएको छ। यसले टिकट बुकिङ, सेवा व्यवस्थापन तथा मार्केटिङसम्बन्धी सम्पूर्ण जिम्मेवारी लिनेछ।

एकतर्फी टिकट दर १७,000 रुपैयाँदेखि

स्पाइस जेटले यात्रुहरूका लागि दिल्ली–काठमाडौं उडानको प्रारम्भिक भाडादर १७,००० रूपैयाँ तोकेको छ। प्रतिस्पर्धी मूल्यका साथ पुनः बजारमा प्रवेश गर्न लागेको स्पाइस जेटले सेवा, सुरक्षा र समयपालनामा भरपर्दो सुविधा दिने दाबी गरेको छ।

नेपालको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नयाँ गतिको संकेत दिन थालेको यो निर्णयले यात्रुहरूलाई सहजता र प्रतिस्पर्धात्मक मूल्यमा सेवा उपलब्ध गराउने देखिन्छ।