तीनकुने दुर्घटना: बसको ठक्करले एकको मृत्यु, तीन घाइते

काठमाडौँको तीनकुनेमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। बिहीबार बिहान ६:३५ बजे कोटेश्वरबाट बानेश्वरतर्फ जाँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले एक भ्यान र मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा परेकी २३ वर्षीया नगिना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी नुवाकोटकी स्थायी बासिन्दा थिइन् र हाल ललितपुरको धोबीघाटमा बसोबास गर्दै आएकी थिइन्। मृतक नगिना सो मोटरसाइकलको पछाडि सवार थिइन्।

दुर्घटनामा घाइते हुनेहरूमा मोटरसाइकल चालक पदम थापा मगर (२७), भ्यान चालक रत्न बहादुर सार्की (३५), र बसमा सवार मेनुका बुढाथोकी (२४) रहेका छन्। तिनीहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बस चालक राम कुमार खड्का (५९) ले चलाएको बसले बा.प्र.०१-०२६ च २९२७ नम्बरको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ।

बस, भ्यान, मोटरसाइकल र सम्बन्धित चालकहरू प्रहरीको नियन्त्रणमा छन्। बसलाई अहिले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथको जिम्मामा राखिएको छ।