उमागौरी कृषि सहकारीको २२ करोड ४८ लाख रुपैयाँ हिनामिना प्रकरणमा उच्च अदालत विराटनगरले मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।
प्रतिनिधि सभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालासमेत मुछिएको उक्त प्रकरणमा बिहीबार उच्च अदालतका कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले आगामी बिहीबारका लागि पेसी तोक्दै मिसिल झिकाउन आदेश दिएको हो। अदालतका रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार, यसअघि दुई न्यायाधीशबीच फरक मत आएपछि थुनामागसम्बन्धी निर्णय अलमलमा परेको थियो।
सरकारी वकिल कार्यालयले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेशलाई वेरित ठहर गर्दै उच्च अदालतमा थुनामा राख्न मागसहित निवेदन दिएको थियो। सो प्रकरणमा अञ्जला कोइरालासहित ६ जना प्रतिवादीलाई धरौटीमा छोडिएको थियो। कोइराला १० लाख र अन्य पाँच जनालाई पाँच–पाँच लाख धरौटीमा छुटाइएको थियो।
सरकारी वकिलको दाबी अनुसार, एउटै मुद्दामा उस्तै अभियुक्तहरूमध्ये कोही कारागारमा र कोही धरौटीमा छुट्नु न्यायिक दृष्टिले असंगत भएकाले जिल्ला अदालतको आदेश बदर गरी सबैलाई पुर्पक्षका लागि थुनामा राखिनु पर्ने माग गरिएको छ।
सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी पहिले नै कारागार चलान भइसकेका छन्।
उक्त प्रकरणमा हालसम्म २६ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अदालतले अबको सुनुवाइ जेठ ८ गतेका लागि तोकेको छ।
Leave a Reply