अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई चौथो स्टेजको प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। आइतबार सार्वजनिक एक वक्तव्यमा बाइडेनको सचिवालयले उनको स्वास्थ्य स्थितिको जानकारी दिएको हो।
प्रारम्भिक रूपमा पिसाबमा समस्या देखिएपछि चिकित्सकसँग परामर्श गर्दा प्रोस्टेट ग्रन्थिमा सानो गाँठो फेला परेको थियो। जाँचपछि सो गाँठो अत्यन्त आक्रामक प्रकृतिको रहेको र क्यान्सर चौथो चरणमा फैलिएको पुष्टि भएको अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।
चिकित्सकहरूका अनुसार बाइडेनको क्यान्सर हड्डी र अन्य अंगमा समेत फैलिसकेको छ। तथापि, क्यान्सर हर्मोन-सम्वेदनशील भएको कारण औषधिबाट नियन्त्रण गर्न सकिने बताइएको छ।
८२ वर्षीय बाइडेन अहिले आफ्नो परिवारसँग मिलेर उपचारका विकल्पहरूबारे चिकित्सकहरूसँग छलफलमा छन्। ड्युक युनिभर्सिटीका क्यान्सर विशेषज्ञ डा. जड मौलका अनुसार यस्तो क्यान्सर पूर्ण रूपमा निको नभए पनि औषधिको सहायताले ५ देखि १० वर्षसम्म जीवन विस्तार गर्न सकिने सम्भावना हुन्छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको स्वास्थ्य अवस्थाबारे दुःख व्यक्त गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। त्यस्तै, पूर्वउपराष्ट्रपति कमला ह्यारिसले बाइडेनलाई बलियो मानसिकता भएको व्यक्ति भन्दै उनको चाँडो स्वास्थ्य लाभ होस् भन्ने कामना गरेकी छन्।
Leave a Reply