हेटौँडामा ३ दिने युवा सम्मेलन सुरू

हेटौँडा, वैशाख २८ – हेटौँडामा आइतबारदेखि ३ दिने युवा सम्मेलन सुरू भएको छ । बागमती प्रदेश युवा परिषद्‌को आयोजनामा आयोजना भएको सम्मेलन प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । सम्मेलन मङ्गलबारसम्म सञ्चालन हुनेछ ।

यस सम्मेलनमा शिक्षा, सीप तथा नीतिगत संवादका विभिन्न सत्र सञ्चालन हुनेछन् । डिजिटल सुशासन र प्रविधिमा युवाको भूमिका, दिगो विकास र जलवायु परिवर्तन, युवाका लागि सीपमूलक तालिमको आवश्यकता र प्राथमिकता, नीति निर्माणमा युवा सहभागिता लगायतका विषयमा छलफल हुनेछ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंका अनुसार सम्मेलनमा मुख्यमन्त्रीसँग युवासँग सम्बन्धित विषयमा प्रत्यक्ष छलफल हुनेछ । साथै, विभिन्न क्षेत्रमा सफल भएका युवा पुस्ताको प्रेरणादायी कथा पनि प्रस्तुत गरिनेछ ।

देशका सातै प्रदेशबाट युवा सहभागी भएका छन् । बागमती प्रदेशका ११९ वटै पालिकाबाट एक-एक जना युवा प्रतिनिधि पठाइएको छ । बाँकी प्रदेशका सहभागीहरू प्रदेश युवा परिषद् वा सामाजिक विकास मन्त्रालयको सिफारिसमा छनोट भएका हुन् ।

युवालाई नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा प्रोत्साहित गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताइएको छ । सम्मेलन सुरू हुनुअघि हेटौँडाको बुद्धचोकबाट खैजेडी भजन, झाँकीसहितको र्‍याली समेत निकालिएको थियो ।