पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जान लागेकी छन्। चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा उनी जेठ १० गते चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

उक्त भ्रमणमा नेकपा (एमाले) का केही नेताहरू पनि पूर्वराष्ट्रपति भण्डारीसँगै सहभागी हुने जनाइएको छ। यद्यपि भ्रमणको विस्तृत कार्यतालिका अझै सार्वजनिक भइसकेको छैन, सहभागी नेताहरूको नाम पनि टुंगो लागेको छैन।

भण्डारीको यो भ्रमण एक साता लामो हुने जनाइएको छ। चीन बसाइको क्रममा उनले उच्च राजनीतिक तहका केही व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको एमाले स्रोतको भनाइ छ।

राष्ट्रपतिका रूपमा दुई कार्यकाल पूरा गरेकी भण्डारीले पछिल्लो समय देशभित्र विभिन्न सार्वजनिक कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी छन्। कतिपयले उनको यो सक्रियतालाई सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेतका रूपमा पनि बुझेका छन्।

राष्ट्रपति पदबाट निवृत्त भएपछि पूर्वराष्ट्रपति भण्डारीको यो पहिलो औपचारिक विदेश भ्रमण हो।