यातायातको सुविधाले मालिकाधुरी यात्रा सहज, भक्तजनको घुइँचो

म्याग्दी जिल्लाको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित धार्मिक तथा पर्यटकीय गन्तव्य मालिकाधुरी जाने भक्तजन तथा पर्यटकका लागि अब यात्रा थप सहज भएको छ। सडक र यातायातको सुविधा विस्तारसँगै यहाँ दैनिक हजारौं भक्तजनको आगमन हुन थालेको छ।

मालिका–७ बिमको नागीथला र रघुगङ्गा–६ को ठाडाखानीबाट देउरालीसम्म सवारीसाधन सञ्चालनमा आएसँगै मालिका थान पुग्न चाहने भक्तजनलाई पैदल यात्रा छोटिएको छ। नागीथलाबाट ३० मिनेट र देउरालीबाट ४० मिनेटको पैदलयात्रापछि मालिकाधुरीमा पुग्न सकिन्छ।

समुन्द्री सतहदेखि ३,३०० मिटरको उचाइमा अवस्थित मालिकाधुरीमा वैशाख पूर्णिमा (चण्डी), भाइटीका र बालाचतुर्दशीको दिन विशेष धार्मिक मेला लाग्ने गरेको छ। यस वर्षको चण्डी पूर्णिमामै मात्र ४,५०० बढी भक्तजनले पूजाआजा गरेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए।

“पहिले यहाँ आउन टहरा वा ओडारमै रात बिताउनु पर्थ्यो,” अध्यक्ष पाइजाले भने, “अब भने बिहान गाडी चढेर आएका भक्तजनले दिउँसो पूजा सकेर घर फर्किन पाउने सहजता छ।”

बेनीकी सानु शर्माले गत वर्ष दुई दिन लगाएर पुगेको यात्रा यसपालि बिहान ६ बजे बेनीबाट सुरु गरी दिउँसो ३ बजे घर फर्किने गरी सम्पन्न भएको बताइन्। उनले यात्रामा सहजता आएको अनुभव सुनाइन्।

धार्मिक र प्राकृतिक आकर्षण

मालिकाधुरीबाट २० भन्दा बढी हिमशृङ्खलाहरू, लालीगुराँसको जंगल, म्याग्दीका ३५ भन्दा बढी गाउँ तथा वन्यजन्तु अवलोकन गर्न सकिन्छ। यहाँ मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको छ। मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाका अनुसार यहाँ पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ।

इतिहास र विकास

वि.सं. १९१० देखि पूजाआजा सुरु भएको मानिने यो क्षेत्रमा भक्तजनहरू भाकल पुरा भएपछि बोका र परेवाको बलि दिने परम्परा छ। यस वर्ष चण्डी पूर्णिमामा भक्तजनहरूबाट ९० हजार रुपैयाँ भेटी सङ्कलन भएको छ। कुल खर्च कटाएर ६७ हजार रुपैयाँ बचत भएको समितिले जनाएको छ।

यता, रघुगङ्गा–६ पाखापानीका भक्तीप्रसाद पाइजाले व्यक्तिगत लगानीमा करिब ३४ लाख रुपैयाँ खर्च गरेर शिव र जालपाको मन्दिर निर्माण गरेका छन्।

सडक सञ्जाल विस्तारसँगै धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण मालिकाधुरी अब आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य बन्दै गएको छ।